६ बैशाख २०८१, बिहीबार

काँक्रेविहार वन क्षेत्रको पुनः नक्सांकन गर्ने तयारी

अर्थ कर्णाली कृषि / पर्यटन प्रदेश मुख्य समाचार समाचार
काँक्रेविहार वन क्षेत्रको पुनः नक्सांकन गर्ने तयारी
0 Shares

सुर्खेत ।
नेपालको एक मात्र संरक्षित वन काँक्रेविहार संरक्षित वन क्षेत्रको पुनः नक्सांकन गर्ने तयारी गरिएको छ । वन क्षेत्रको भूभाग अतिक्रमणमा पर्न थालेको भन्दै जिल्ला वन क्षेत्र समन्वय समितिले काँक्रेविहार वन क्षेत्रको पुनः नक्सांकन गर्ने निर्णय गरेको हो । पुनः नक्सांकनका लागि पाँच सदस्य प्राविधिक टोली पनि गठन गरिएको छ ।

समितिमा डिभिजन वन कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र वीरेन्द्रनगर नगरपालिका प्राविधिकहरु रहनेछन् । सो कार्यको नेतृत्व डिभिजन वन कार्यालय सुर्खेतले गर्नेछ । डिजिजनल वन अधिकृत मुनबहादुर रावतले समितिमा रहने प्राविधिकहरु तोक्ने काम भइरहेको जानकारी दिदैं त्यसपछि बैठक बसी कहिलेदेखि पुनः नक्साँकन गर्ने भन्ने निर्णय गरिने बताउनुभयो । उहाँले यदि काम सुरुमा दुई देखि तीन हप्ताभित्र काँक्रेविहार क्षेत्रको नक्साँकनको काम सकिने जानकारी दिनुभयो । यसपटक अत्याधुनिक उपकरणबाट काँक्रेविहार वन क्षेत्रको नक्साँकन गरिने उहाँको भनाइ छ ।
काँक्रेविहार वन क्षेत्र भूमाफियाबाट अतिक्रमण भएको भन्दै उच्च अदालतमा रिट पर्दा अदालतले पुनः नक्साँकन गर्न अन्तरिम आदेश दिएको थियो । डिभिजनल वन अधिकृत रावतले समिति गठनले अदालतको आदेशलाई पनि पालना गरेको र सम्भवतः आगामी फागुन महिनाभित्र नक्साँकनको काम सकिने जानकारी दिनुभयो । राजपत्रमा काँक्रेविहार संरक्षित वन क्षेत्रको क्षेत्रफल १७५.५ हेक्टर रहेको छ । तर नापीको नक्सामा १६७ हेक्टर छ । अव पुनः नक्साँकन गरिएपछि कति क्षेत्रफल रहेछ भन्ने एकीन हुने रावतको भनाइ छ ।
यता काँक्रेविहारको संरक्षण तथा विकासका लागि डिभिजन वन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाले छुट्टाछुट्टै रकम बिनियोजन गरेका छन् । डिभिजन वनले ५० लाख र वीरेन्द्रनगर नगरपालिकाले तीन करोड बजेट छुट्याएको छ । डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत रावतले वनले गर्ने कामका लागि रकम बिनियोजन भइसकेको हुँदा अव काँक्रेविहार संरक्षण तथा विकासको काम सुरु गरिने बताउनुभयो ।
काँक्रेविहार जैविक मार्ग तथा वन संरक्षण व्यवस्थापन, विरुवा खरिद र रोपण, वन्यजन्तुको बासस्थानको झाडी सरसफाई, वन डढेलो नियन्त्रण र औजार खरिद, काँक्रेविहार वन संरक्षण क्षेत्र व्यवस्थापन परिषद गठन, पोखरी तथा कुवा निर्माण, गस्ती परिचालन, काँक्रेविहार संरक्षण वन क्षेत्र व्यवस्थापन कार्ययोजना पुनरावलोकन, सीमांकन तथा नाप नक्सा अध्यावधि र प्रचारप्रसारका लागि यस वर्ष वन कार्यालयले ५० लाख रकम खर्च डिभिजन वनले गर्नेछ ।
उता वीरेन्द्रनगर नगरपालिकाले भने काँक्रेविहारको विकास कार्यक्रम भन्दै तीन करोड बजेट छुट्याएको छ । जसमा जंगल सफारी, मिनी चिडियाखाना, पदमार्ग, जरायो गणना तथा बासस्थान अध्ययनलगायतको कामहरु गरिनेछ । जंगल सफारीको लागि रिङ रोड ग्राभेलिङका लागि दुई करोड, पानी बोरिङ, जरायो पोखरी निर्माण तथा पानी वतरणमा २५ लाख, काँक्रेविहार भग्नावशेष वरिपरि एकतर्फी स्लेट पत्थरसहितको पदमार्ग निर्माणमा २५ लाख र बन्यजन्तु बासस्थान सुधार तथा उद्धार केन्द्र र मिनी चिडियाखाना स्थापना तथा संचालन गर्न विस्तृत परियोजना प्रतिवेदनका लागि १५ लाख बजेट छुट्याइएको छ ।
यसैगरी जरायो गणना र बासस्थान अध्ययनका लागि पाँच लाख, काँक्रेविहार रिङरोड, सडक दायाँबायाँमा सौन्दर्य प्रर्वद्धन गर्न १५ लाख र पिक्निक स्थल, खानेपानी सुधार तथा फोहोर व्यवस्थापनमा १५ लाख बजेट छुट्याइएको छ । जिल्ला वन कार्यालयका डिभिजनल वन अधिृत रावतले नगरपालिकाले गर्ने भनेको विकासको कामका लागि बजेट आइ नपुगेको भन्दै वन कार्यालयबाट गर्ने काम भने तत्काल सुरु हुने बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap