६ बैशाख २०८१, बिहीबार

छोरीमाथिको विभेद हटाउन कर्णालीमा छोरी लक्षित कार्यक्रम

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
छोरीमाथिको विभेद हटाउन कर्णालीमा छोरी लक्षित कार्यक्रम
0 Shares

सुर्खेत ।

कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ती विष्टले कर्णालीमा छोरीमाथि विभेद बढी हुनेभएकोले त्यस्तो कार्य रोक्न छोरी लक्षित कार्यक्रमहरु ल्याएको बताउनुभएको छ । उहाँले धर्म संस्कृतिलगायतका कारणले छोरीमाथि बढी विभेद हुने गरेको हुँदा प्रदेश सरकारले छोरी लक्षित कार्यक्रमहरु ल्याएर विभेद न्यूनीकरणको प्रयास थालेको जानकारी दिनुभयो ।


इन्सेक कर्णाली प्रदेश, दलित महिला संघ र मानवअधिकार समूह सुर्खेतले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा वीरेन्द्रनगर नगरपालिका—२ को कोलडाँडाका महिलाहरुलाई उपसभामुख घर्तीले बालविवाह, बहुविवाह, घरेलु हिंसाजस्ता घटनामा छोरी र महिलामाथि बढी हिंसा हुने गरेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले छोरीलाई उच्च शिक्षासम्म पढाउन र बालविवाह रोक्नका लागि मासिक एक हजार राख्ने गरी छोरी बचत कार्यक्रम ल्याएको जानकारी दिनुभयो । यो कार्यक्रमले छोरीमाथि हुने विभेद रोक्नुका साथै बालविवाह हुने क्रम पनि घटाउने लक्ष्य राखिएको उहाँको भनाइ छ ।
यस्तै हिंसापीडित महिलाहरुलाई सुरक्षितरुपमा बस्नका लागि सुरक्षित घरको योजना बनाएको जानकारी पनि उहाँले दिनुभयो । यसका साथै छोरी बुहारी छात्रवृत्ति कार्यक्रम पनि प्रदेश सरकारले ल्याएको उपसभामुख घर्तीले बताउनुभयो । यी सवै कार्यक्रमहरुले छोरीमाथि हुने विभेदमा कमी ल्याउने उहाँको दावी छ । हिंसा न्यूनीकरणका लागि घरबाटै सुरु गर्नुपर्ने भन्दै उहाँले त्यसका लागि सवैले प्रयास गर्नुपर्ने सुझाव दिनुभयो ।
इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कर्णालीमा बालविवाह, बहुविवाह, घरेलु हिंसाजस्ता घटनाहरु महिलामाथि बढी हुने गरेको जानकारी दिनुभयो । हिंसा रोक्नका लागि विभिन्न अभियानहरु थालिएको भन्दै उहाँले सवैले आ—आफ्नो घरबाटै हिंसा रोक्ने प्रयत्न गर्न आग्रह गर्नुभयो । बाँगेसिमल प्रहरी चौकीका प्रहरी हवल्दार तेजबहादुर थापाले समाजमा मदिरा सेवनले बढी हिंसा निम्तिएको बताउनुभयो । उहाँले एउटै व्यक्तिलाई १० पटकसम्म मिलापत्र गराएर पठाउनुपर्ने अवस्था रहेको जानकारी दिनुभयो । दलित महिला संघका सचिव खगिसरा वलीले हिंसामा विशेषगरी दलित महिलाहरु बढी पीडित हुने गरेको पाइएको बताउनुभयो । उहाँले दलित महिलाहरुलाई आत्मनिर्भर बनाउन सरकारी तथा गैरसरकारी निकायबाट विशेष कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सो स्थानमा मदिरा सेवन, बालबालिकाहरुमा विद्यालय छोड्ने दर, बालविवाह, बहुविवाह, बेरोजगार र गरिवीले समाजमा लैंगिक हिंसा बढेको सुझाव दिइएको थियो । सो अवसरमा वडा नं. २ का वडाअध्यक्ष बलबहादुर रोकाया, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, मानवअधिकार समूहका अध्यक्ष लक्ष्मी शर्माले आत्मनिर्भर बन्न सके विभेद अन्त्य हुने बताउनुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap