१५ चैत्र २०८०, बिहीबार

उच्च शिक्षाको व्यवस्थापनमा प्रमुख समस्या ः जनशक्ति अभाव र राजनीतिक हस्तक्षेप

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
उच्च शिक्षाको व्यवस्थापनमा प्रमुख समस्या ः जनशक्ति अभाव र राजनीतिक हस्तक्षेप
0 Shares

सुर्खेत ।

नेपालका उच्च शिक्षामा जनशक्ति अभावले गुणस्तरीय शिक्षा प्रदानमा चुनौती देखिएको छ । सुर्खेत बहुमुखी क्याम्पस र आन्तरिक गुणस्तर सुनिश्चितता समितिको संयुक्त आयोजनामा शुक्रवार उच्च शिक्षा प्रदायक संस्थाको व्यवस्थापकीय सुधारः चुनौती र अवसर विषय छलफल कार्यक्रममा उच्च शिक्षामा जनशक्तिको अभाव प्रमुख सदस्याका रुपमा रहेको औंल्याइएको छ ।


कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माले सरकारले तलब खाने भन्दा अरु पैसा नदिने हुँदा जनशक्ति थप्न नसकिएको बताउनुभयो । १७ हजार शिक्षक तथा कर्मचारीको दरबन्दी भएको उक्त विश्वविद्यालयका प्राध्यापकहरुले काठमाडौं मात्र बस्ने प्रवृत्तिले पनि उच्च शिक्षाको व्यवस्थापनमा सुधार हुन नसकेको उहाँको भनाइ छ ।
जनशक्तिका सााथै राजनीतिक हस्तक्षेपले पनि विश्वविद्यालयमा उच्च शिक्षा धरासायी भएको उहाँले बताउनुभयो । विश्वविद्यालयका कार्यक्रमहरुलाई व्यवस्थापन गर्न क्याम्पसहरु आफैपनि अगाडि बढ्नुपर्ने सुझाव दिदैं उहाँले सरकारलाई लक्षित गर्दै विश्वविद्यालयका कार्यक्रम स्वीकृति गर्ने तर अर्थ मन्त्रालयबाट दरबन्दी नदिने अवस्था अहिले पनि कायमै रहेको जानकारी दिनुभयो । राजनीतिक दबाबलाई खबरदारी गर्दै मुलुकमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नतर्फ विश्वविद्यालयहरु लाग्नु पर्ने उहाँको भनाइ छ ।
प्रा.डा. महानन्द चालिसेले देशमा ८० प्रतिशत शिक्षाको भार त्रिभुवन विश्वविद्यालयले लिएको बताउँदै कर्णाली प्रदेशकै गौरव हुने गरी सुर्खेत बहुमुखी क्याम्पसलाई विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयको व्यवस्थापन सुधारमा प्राध्यापक, विद्यार्थी, प्रशासकीय निकाय सवै गम्भीर हुनुपर्ने सुझाव दिनुभयो ।
यस्तै उपप्राध्यापक डा. दीपक गौतमले स्वच्छ छवि भएका व्यक्तिहरु मध्येबाट नेतृत्व हुने गरी संचालक समितिको निर्माण गर्नुपर्ने, समयलाई महत्वका साथ लिनुपर्ने र क्याम्पसलाई शैक्षिक क्षेत्रको आँखाको नानीको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । सुर्खेत बहुमुखी क्याम्पस प्रमुख माधव खनालले आफूहरु इमान्दारितको सपना लिएर अगाडि बढिरहेकाले लक्ष्यमा पुग्न सफलता मिल्ने दावी गर्नुभयो । उहाँले चुनौती र अवसर दुबै भएपनि भौतिक पूर्वाधारको समस्या रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुखहरु डा. महेन्द्रकुमार मल्ल, टंकप्रसाद आचार्यलगायत प्राध्यापकहरु जनकबहादुर रावल, शरद पौड्याल, किरण भट्टराई, प्रेमबहादुर थापा, दीपेन्द्रकुमार खत्री, थानेश्वर लामीछाने, मदनकुमार जोशीलगायतकाे उपस्थिति थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap