१६ चैत्र २०८०, शुक्रबार

वीरेन्द्रनगरको दिसाजन्य लेदो अब प्रशोधन केन्द्रमा

कर्णाली प्रदेश मुख्य समाचार शिक्षा / स्वास्थ्य समाचार
वीरेन्द्रनगरको दिसाजन्य लेदो अब प्रशोधन केन्द्रमा
0 Shares

सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापन गर्नका लागि प्रशोधन केन्द्र तयार गरेको छ । एसएनभी नेपालले करिव दुई करोडको लागतमा वीरेन्द्रनगर नगरपालिका—१ को कृष्ण सामुदायिक वन क्षेत्रको तारेभिरमा सो केन्द्र निर्माण गरेको हो । अव वीरेन्द्रनगरका घरघरका सेफ्टी ट्यांकीमा रहेको दिसाजन्य लेदो व्यवस्थापन कहाँ गर्ने भन्ने समस्या हट्नेछ ।


हाल उक्त लेदो विभिन्न निजी कम्पनीले जंगलमा फाल्ने गरेका छन् । अव प्रशोधन केन्द्र निर्माण भएपछि त्यहीं विसर्जन गरी वातावरणीय सरसफाईका साथै थप आम्दानी गर्न सकिने भएको छ । करिव एक वर्षको अवधिमा प्रशोधन केन्द्र तयार भएको हो । एसएनभी नेपालका पूर्वाधार सल्लाहकार राजु श्रेष्ठले पहिलो चरणमा दिसाजन्य लेदो व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको बताउनुभयो । काठमाडौंको नेपाल आदर्श निर्माण कम्पनी र सुर्खेतको दिपमाला इन्जिनियरिङ कम्पनीसँग दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माणको सम्झौता भएको थियो ।
सो केन्द्रमा दिसाजन्य लेदो प्रशोधन गरिनेछ । १४० मिटर गहिरो दुई वटा ठूला खाडल बनाइएको छ । हालिएको लेदो सो खाडलमा पुगेपछि पानी सोसेर निस्कने र लेदो थेग्रिने गर्दछ । लेदो थेग्रिदै गएपछि पछि कम्पोष्ट मल तयार हुनेछ । एक करोड ९७ लाखमा तयार भएको सो केन्द्रप्रति विभिन्न निकायले विशेष नजरले हेर्ने गरेको उहाँको भनाइ छ ।
केन्द्रको प्रशोधन क्षमता प्रतिदिन १० घनमिटर रहेको छ । दैनिक ५० घनमिटर दिसाजन्य लेदो र २.५ मेट्रिक टन ठोस फोहोर प्रशोधन हुने गरी सो केन्द्रको डिजाइन तयार पारिएको छ ।


सो प्रशोधन केन्द्रको निरीक्षण गरेपछि एसएनभीले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा एसएनभीका सरसफाई विभाग निर्देशक सुनेत्रा ललाले दिसाजन्य लेदो व्यवस्थापन गर्न यस प्रशोधन केन्द्रले धेरै सहयोग पु¥याउने बताउनुभयो । उहाँले नगरका घरधुरीबाट निस्कने दिसाजन्य लेदो व्यवस्थापन गर्न अव समस्या नहुने जानकारी दिनुभयो । यो केन्द्र नगरपालिकाको लागि महत्वपूर्ण उपलव्धी भएकोले यसको दीर्घकालीन संचालनमा ध्यान दिन सुझाव उहाँले दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले दिसोजन्य लेदो व्यवस्थापनका लागि निर्माण गरिएको प्रशोधन केन्द्र नगरपालिकाको महत्वकांक्षी योजना भएको बताउनुभयो । उहाँले अव ठोस फोहोर व्यवस्थापनका लागि अर्को चरणमा काम गर्न आवश्यक रहेको भन्दै प्रशोधन केन्द्रको दीर्घकालीन संचालन गर्न योजना बनाइसकेको जनाउनुभयो । उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर यस केन्द्रको थप पूर्वाधार विकास गरिने उल्लेख गर्नुभयो ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले प्रशोधन केन्द्र संचालनका लागि तीन जना जनशक्ति तयार रहेको जानकारी दिनुभयो । केही शुल्क लिएर यसको संचालनलाई थप दीर्घकालीन बनाइने जानकारी दिदैं उहाँले नियमित अनुगमन पनि गरिने उल्लेख गर्नुभयो । नगरपालिकाका प्रशासन अधिकृत तथा सरसफाई फोकल पर्सन प्रकाश पौडेलले प्रशोधन केन्द्रमा तयार गरिएको कम्पोष्ट मल विक्रीवितरणका लागि अर्को चरणमा काम गरिने बताउनुभयो । ल्याण्डफिल साइट निर्माणका लागि सो क्षेत्रको पाँच विगाह जग्गा नगरपालिकाको नाममा प्राप्त भएको र यसैमा लेदो प्रशोधन केन्द्र तयार गरिएको जानकारी उहाँले दिनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap