७ बैशाख २०८१, शुक्रबार

आमा बन्दाको त्यो खुशी

कला / साहित्य / खेलकुद मुख्य समाचार
आमा बन्दाको त्यो खुशी
512 Shares


सृजना बुढाथोकी

२०५० साल साउन महिनाको ३२ गते मेरो जन्म भयो । सुर्खेत जिल्ला अस्पतालमा । मम्मी र बाबाको पहिलो सन्तानको रुपमा भएको मेरो जन्मले परिवारमा खुशी ल्यायो तर झनै खुशी मामाघरमा भयो । पहिलो नातिनी, भान्जी म भएँ । म सबैकी प्यारी थिए । मेरो पालनपोषण मामाघरमै भयो र म जन्मदिने मम्मीभन्दा धेरै मामाघरका आमा बुवा खोज्न थाले ।


बाबा नेपाली सेनामा कार्यरत, बाबासंगै मम्मीपनि जागिरमै संगसंगै जाने र मलाई पनि लैजाने सोच तर मलाई मामाघर नै प्यारो । मेरो मम्मीलाई पिर लाग्थ्यो होला पहिलो सन्तानले नै संगै जान नमान्दा । एउटा आमाबाट बच्चा टाढा हुँदा कस्तो अनुभव भयो होला । मैले अहिले बुझिरहेकी छु । किनकि मपनि अहिले मेरी प्यारी छोरी स्यारोनकी आमा हुँ ।

यसरी नै दिन, वर्ष बित्दै गए । २०७० मा मैले विवाह गरे । एउटी नारीलाई सबैभन्दा खुशी तब मिल्छ, जब उस्तो श्रीमानले उसलाई सम्मान गर्छ, हरेक पाइलामा साथ दिन्छ र हर काममा सहकार्य गर्छ । हो, म त्यो भाग्यमानी नारी हुँ, मैले यो सबै गुण भएको श्रीमान पाएँ । पेशाले पत्रकारिता गरिरहेकी म पुनः आफ्नो पेशामै फर्किए । २०६९ साल देखि नै जागरण एफएममा काम गर्दै आएकी म दिनभरि समाचार तयार गर्ने, पढ्ने काम गर्दै समय बिताउन थाले ।


९ वर्ष आफ्नो देश, घर परिवार, साथीभाइ सबै छोडेर अर्काको देशमा बिताएको जिवन छोडेर २०७४ साल फागुनको महिना श्रीमान अब विदेश नफर्किने गरि आफ्नै देश, आफ्नै गाँउठाँउ फर्किनुभयो । हामीले बच्चाको योजना बनायौं । जव म गर्भवती भए नौलो अनुभूति महसुस गरे । मैले कल्पना गर्न थाले कस्तो होला !! मेरो बच्चा भनेर । ९ महिना कटाउनु थियो, मैले त्यो कल्पनालाई आँखाको अगाडि पाउनका लागि । आजभोलि गर्दै दिनहरु वित्दै गए त्यो दिन सम्झिदा लाग्छ, ओहो ! कति गाह्रो, अनि फेरि सम्झिँए आफ्नी आमा ।। जबसम्म आफूलाई पर्दैन कुनै कुरा कसैले बुझ्दैन भनेको हो रहेछ । आमा बन्न कहाँ सजिलो रहेछ र ।

कुर्दा कुर्दा बच्चा जन्मिने समय पनि आयो । चेक गर्नका लागि नेपालगन्जको नर्सिङ्ग होममा हामी दुवैजना गयौं र डाक्टरले आज डेट भएपनि सबै ठिकै छ । एक हप्ता पर्खौ भन्नुभयो र अझै लम्बियो मेरो सपना । जसो तसो एक हप्ता त कट्यो, फेरि हामी डक्टरलाई भेट्न गयौ । सबै चेकजाच भयो । पुनः एक हप्ता पर्खने सल्लाह दिनुभयो । तब सम्म मेरो पेटको बच्चा ४१ हप्ताको भैसकेको थियो । एक हप्ताको पुनः पर्खाइ पछि हामी फेरि नर्सिङ्ग होमतर्फ लाग्यौ । जब डक्टरले कार्ड हेर्नुभयो अनि किन ढिला गरेको तपाईलाई आजै भर्ना गर्नुपर्छ, ढिलो भैसक्यो, बच्चा केही भए हामी जिम्मेबार छैनौ” भन्नुभयो तब बल्ल मलाई अनुभव भयो कि ठूलाबडाले जे भने पनि हुने रहेछ ।

एकातिर खुशी, सपना, संसार मेरो बच्चा र अर्कोतर्फ डक्टरको त्यो भनाइ । मलाई सम्झेरै तनाब बढ्यो । तुरुन्तै म कोहलपुरको दशविगाह अस्पतालमा पुगेर डेलिभरी हुने वार्डमा गए तब एउटा कागजमा मेरो श्रीमानलाई दस्तखत गर्न भनियाmे कि बच्चा तलमाथि केही भए म अस्पताललाई केही भन्ने छैन र म आफैले यसको जिम्मा लिनेछु ।

ए बाबा, आफ्नो बच्चा ९ महिनादेखि कति सपना बुनेर, हिँड्दा पनि ठेस लाग्दा बच्चालाई गाह्रो होला कि, यो खादा बच्चालाई केही असर गर्छ कि भनेर बचाएको बच्चा कसरी म सिधै केही भन्दिन भन्न सक्छु र भन्दै मेरो श्रीमानले अँधेरो अनुहार पार्दै भन्नुभयो । कि डक्टरको सल्लाह बिना हिँडेको भएपनि हो, हप्ता हप्तामा सल्लाह लिएर हिंड्दा पनि यो दिन आउने भए किन जानु प¥यो डाक्टरकोमा । तर दस्तखत बिना भर्ना लिन नमिल्ने नर्सहरुको भनाई पछि, दुई थोपा आँशु खसाल्दै दस्तखत गर्नुभयो । मैले बिहे भएदेखि उहाँको अनुहारमा त्यति निराशपन कहिल्यै देखिन ।

दिउँसो ३ बजे डाक्टर आएर मलाई व्यथा लाग्ने औषधि दिएर जानुभयो र रातभरिमा ३ पटक औषधि लगाए । व्यथा लागेपनि बच्चा जन्मिएन । मेरो साथमा त्यतिबेला मेरो मम्मी हुनुहुन्यो । त्यो व्यथाले म छटपटिएको देख्दा मेरो मम्मीको आँखामा आँशु झरिरहेको थियो । २४ घण्टा कट्यो अनि डाक्टर आउनुभयो र अब हँुदैन अप्रेशन गर्नुपर्छ सिस्टर तयारी गर्नुस भन्नुभयो । राती ३ः४९ मिनेटमा सिस्टरले मेरो आँखाको अगाडि मेरी छोरीलाई देखाउदै हजुरको छोरी जन्मियो है भनेर देखाउनुभयो । सायद म यति खुशि कहिल्यै भइन, मेरो परिवारमा लक्ष्मीको पाइला प¥यो । झन्डै ४ केजी जन्मिएकी मेरी छोरी हेर्दा मोटी अनि म जस्तै नेप्टी पनि । उफ्, सबै पीडा भुलाउन त्यो सानो अनुहार काफी थियो मेरा लागि ।

आज मेरि छोरी १८ महिनामा हिडिरहेकी छन् । १७ महिना कटेको पत्तै भएन मलाई । दिउँसोभरि अफिसमा काम गर्दा भएको थकान घर पुग्दा बाटोमै मलाई कुरेर बसेकी मेरी छोरीले खुशी हुँदै “मामु आयो” भन्ने शब्दले भुलाइदिन्छ ।

मेरी छोरी स्यारोन ! उसको बाबाको रोजाइको नाम । यस नामको अर्थ “उर्वर मैदान र हिब्रु मूल” । छोरी तिमीलाई यस्तो, उस्तो बनाउछु भन्ने मेरो केही योजना छैन तर सधैं तिमीलाई सही मार्गदर्शन दिनसकुँ, म बाचुन्जेल तिमीलाई मेरै आँखा अगाडि देख्न पाँउ र यो पापी मान्छे भएका संसारको गिद्धे आँखा लाग्नबाट जोगाउन सकु । बस्, तिम्रो आखामा सधैँ असल आमा भएर देखाउन सकुँ ।

असीमित र अटुट माया मात्र “मेरि स्यारोन” को लागि !

Leave a Reply

Share via
Copy link
Powered by Social Snap