८ बैशाख २०८१, शनिबार

सरकारी अस्पतालको सेवा उत्कृष्ट – प्रदेश प्रमुख प्रसाईं

वागमती समाचार
सरकारी अस्पतालको सेवा उत्कृष्ट – प्रदेश प्रमुख प्रसाईं
0 Shares

चितवन । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारी अस्पतालप्रति जनमानसको भ्रम चिरेर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको छ । भरतपुर अस्पतालमा आज स्वास्थ्य परीक्षण गराएपछि उहाँले यहाँको सेवाको बारेमा आम जनतालाई बुझाउन आग्रह गर्नुभयो ।

सरकारी अस्पतालको सेवा सुविधा राम्रो हुँदै गएको जनाउँदै उहाँले यस अस्पतालको सेवा उत्कृष्ठ रहेको आफूले जानकारी पाएको बताउनुभयो । उहाँले कोभिड–१९ को उपचारमा सरकारी अस्पतालले पु¥याएको योगदानको उच्च सम्मान गर्दै थप प्रभावकारी सेवा दिन आग्रह गर्नुभयो ।

सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी, अस्पताल विकास समितिका सदस्य केशव देवकोटा, अस्पतालका वरिष्ठ हाडजोर्नी एवं नसा रोग विशेषज्ञ प्रा डा कृष्ण पौडेल र सूचना अधिकारी लिलाधर पौडेलले अस्पतालका सेवा सुविधाका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई पनि सो अवसरमा उपस्थित हुनुहुन्थ्यो । प्रदेश प्रमुख प्रसाईंको प्रा डा पौडेलले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । ढाड सड्किएको र कुममा समस्या भएको प्रा डा पौडेलले जानकारी दिनुभयो । प्रमुख प्रसाईँका स्वकीय सचिव प्रताप उप्रेतीका अनुसार उहाँले सधैँ आफ्नो उपचार सरकारी अस्पतालमा गर्दै आउनुभएको छ ।

दुई दिन अघि मकवानपुर गढीबाट झर्ने क्रममा ढाड सड्किएपछि उपचारका लागि प्रमुख प्रसाईँ भरतपुर अस्पताल आउनुभएको हो । उहाँले आज यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको पनि निरीक्षण गर्नुभएको थियो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap