७ बैशाख २०८१, शुक्रबार

भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको छ – मुख्यमन्त्री पोखरेल

प्रदेश नं. ५ समाचार
भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको छ – मुख्यमन्त्री पोखरेल
0 Shares

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको बताउनुभएको छ ।

भूमे पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले खाम संस्कृति समुदाय र क्षेत्र विशेषको मात्रै नभएर नेपाली समाजको महत्वपूर्ण संस्कृतिको रुपमा पहिचान स्थापित भएको बताउनुभयो ।

“रोल्पा र रुकुमका खामभाषी मगर समुदायले मनाउने भूमे पर्व हाम्रो प्रदेशको विशेष सांस्कृतिक पर्व हो । विविधतायुक्त नेपाली समाजमा जाति र समुदायले मनाउने पर्वले समाजमा एकता, सद्भाव र मेलमिलापको वातावरण बनाउन भूमिका खेलेका छन् ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो । भूमे पर्व प्रकृतिसँग सम्बन्धित रहेकाले यसले प्रकृति र मान्छेबीचको गहिरो सम्बन्ध उजागर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रकृतिले हामीलाई दिएका अमूल्य उपहार माटो, पानी, जीवजन्तु र रुखबिरुवाको संरक्षण र सही उपयोग गर्न सक्दा मात्रै हाम्रो जीवन सरल र सहज रुपमा अघि बढ्न सम्भव छ ।”

संविधानले सबै जाति र समुदायको उत्थान र विकासमा जोड दिएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले अल्पसङ्ख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिक रुपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको जनाउनुभयो ।

“प्रदेश सरकारले भूमे पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै आज रोल्पा र रुकुममा स्थानीय बिदा दिने निर्णय गरेको छ । लोकतन्त्रलाई सबै समुदाय र वर्गका नागरिकको जीवनपद्धति बनाउन खोजिएको छ”, सन्देशमा भनिएको छ । मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातीले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने वातावरण बन्ने छ । संविधान कार्यान्वयन गर्दै सरकार समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अघि बढेको छ ।”

Leave a Reply

Share via
Copy link
Powered by Social Snap