८ बैशाख २०८१, शनिबार

राजविराजमा पिसीआरद्वारा परीक्षण शुरु

प्रदेश नं. २ समाचार
राजविराजमा पिसीआरद्वारा परीक्षण शुरु
0 Shares

सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिड–१९ को परीक्षण गर्न स्वाब सङ्कलन शुरु भएको छ । पिसीआर उपकरण आएको १७ दिनपछि आजबाट औपचारिक परीक्षण थालिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयबाट खटिएको टोलीद्वारा पिसीआर मेसिन जडानकार्य गरेपछि स्वाब परीक्षण शुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिनुभयो । पहिलोपटक राजविराज नगरपालिका–१ स्थित राजदेवी माविको क्वारेन्टिनमा रहेको २२ जनाको स्वाब परीक्षण गरिएको छ । सङ्कलित स्वाब परीक्षणको प्रक्रियामा राखिएकाले आजै रिपोर्ट आउने उहाँले जानकारी दिनुभयो ।

यसअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट परीक्षण हुने गरेको थियो । धरानबाट स्वाबको रिपोर्ट आउन पाँच दिनदेखि सात दिनसम्म लाग्ने गरेकामा राजविराजमै परीक्षण कार्य शुरु भएपछि सहज हुने भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा दासका अनुसार प्रयोगशालामा माइक्रो बायोलोजिष्ट, मेडिकल टेक्नोलोजिष्ट, ल्याब टेक्नेसियन, ल्याब असिस्टेन्ट र सहयोगीसमेत गरी १० जनशक्ति परिचालित भएका छन् ।

अस्पताल परिसरमा रहेको प्रयोगशाला भवनमा जडान गरिएको मेसिनमा एकपटकमा ९६ क्यासेट लाग्ने छ । एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमता रहे पनि शुरुमा केही कम स्वाबको नमूना परीक्षण गर्दै क्रमशः बढाइँदै लगिने अस्पतालले जनाएको छ । बाहिरको प्रयोगशालाबाट स्वाब रिपोर्ट आउन एक सातासम्म लाग्ने गरेकामा अब राजविराजमै परीक्षण हुने भएपछि कोरोना पहिचान कार्यमा तीव्रता आउने कोभिड–१९ व्यवस्थापन संयोजक डा रणजितकुमार झाले बताउनुभयो ।

सप्तरी जिल्लामा भारतको दिल्ली, मुम्बई, हरियाणा, पञ्जाब, बिहारलगायतबाट आएका एक हजार ८०२ जनालाई हाल सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यसअघि धरान र विराटनगर पठाइएको ३७२ जनाको स्वाब रिपोर्ट आउन बाँकी छ ।

सप्तरीका सङ्क्रमित ७७ मध्ये ७६ राजविराजस्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसनमा राखिएको छ । एक सङ्क्रमित डिस्चार्ज भएका छन् ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap