७ बैशाख २०८१, शुक्रबार

ठूला पूर्वाधार आयोजनाले निरन्तरता पाएपछि बाँकेवासीमा उत्साह

प्रदेश नं. ५ समाचार
ठूला पूर्वाधार आयोजनाले निरन्तरता पाएपछि बाँकेवासीमा उत्साह
0 Shares

राँझा । सङ्घीय सरकारले ल्याएको आर्थिक वर्ष २०७७-७८ को वजेटमा बाँकेका ठूला पूर्वाधार आयोजनाले निरन्तरता पाएका छन् । सरकारको नीति तथा कार्यक्रममा समेटिएका बाँकेको सिक्टा सिँचाइ आयोजना, ग्रामीण विद्युतीकरण, औद्योगिक क्षेत्र तथा भन्सारलगायतका क्षेत्रमा बजेट विनियोजन भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले कृषि र रोजगारीलाई मुख्य प्राथमिकता राखेर बाँकेको सिक्टा सिँचाइ आयोजना, नौवस्ता औद्योगिक क्षेत्र र नेपालगञ्जमा एकीकृत जाँच चौकीलाई नीति तथा कार्यक्रममा समेटेर बजेट विनियोजन हुनु बाँकेवासीकै लागि खुशीको कुरा भएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम र विनियोजित बजेट कार्यान्वयन हुन सके बाँकेवासीका लागि ठूलो उपलब्धि हुने उल्लेख गर्दै कार्यान्वयनमा कोभिड-१९ ले समस्या आउनसक्ने चिन्ता व्यक्त गर्नुभयो ।

बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिम नहर सञ्चालनमा ल्याउने गरी सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ । बाँके जिल्लाको करिब ३४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुया¥उने उद्देश्यले १४ वर्षअघि निर्माण शुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइनु सकारात्मक भएको सिक्टा सिँचाइ आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताउनुभयो ।

यसैगरी अलपत्र अवस्थामा रहेको बाँकेको नेपालगञ्ज एकीकृत जाँचचौकी स्थापना गर्ने र बुटवल– कोहलपुर प्रसारण लाइन विस्तार गर्ने कार्यक्रमले उद्योगी व्यापारी उत्साहित देखिएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले आफूहरुले उठाउँदै आएको एकीकृत जाँचचौकी स्थापनालाई सरकारले नीति तथा कार्यक्रममा समेटेकोमा खुशी व्यक्त गर्नुभयो ।

आर्थिक वर्ष २०७७-७८ मा बाँकेको बैजनाथ गाउँपालिकास्थित प्रदेशस्तरीय नौवस्ता औद्योगिक क्षेत्र निर्माणले निरन्तरता पाउने भएको छ । नौवस्ता औद्योगिक क्षेत्र प्रदेश नं ५ कै गौरवको आयोजनासमेत हो । गत वर्षको नीति तथा कार्यक्रममा समेत समावेश भएको नौवस्ता औद्योगिक क्षेत्रलाई यो वर्ष पनि सरकारले प्राथमिकता दिएकाले निर्माण कार्यले गति लिने आशा गरिएको छ ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले नीति तथा कार्यक्रममा नौवस्ता औद्योगिक क्षेत्रको कामलाई अगाडि बढाउने उल्लेख गरी बजेट विनियोजन भएकोमा आफूहरुमा उत्साह थपिएको बताउनुभयो ।

Leave a Reply

Share via
Copy link
Powered by Social Snap